Showing posts with label Kathmandu. Show all posts
Showing posts with label Kathmandu. Show all posts

Monday, April 9, 2012

गज्जबको अभियान !

SUNDAY, 08 APRIL 2012 14:27
गोविन्द अधिकारी

काठमाडौंमा 'गज्जब'को अभियान थालिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई दम्पति सडकमा कुचो लिएर निस्केकाले हो कि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेपाली हाकिमले त अति उत्साहमा एसएमएसै गरे- मैले यति सफा काठमाडौं यसभन्दा पहिले कहिल्यै देखेको थिइन। काठमाडौंबाहिर भएकाले ठाने- होला। र उनको एसएमएस फर्काएँ- कतै माओवादीका अरू कार्यक्रमजस्तै प्रचार र पाखण्ड सिद्ध नहोस्।

काठमाडौँ आएको भोलिपल्ट आफ्नै टोलमा पनि सफाइ अभियान रहेछ। मेरी पत्नी घर अगाडि सधैँ बडारिएको सडकमा कुचो लगाउँदै थिइन्। र कुकुर पाल्नेहरूलाई गाली पनि गर्दै थिइन्। हाँसो उठ्यो तर केही भनिन। प्रातः भ्रमणका लागि निस्केँ।

बाटामा साना नानीहरू विद्यालयको ब्यानर बोकेर सफाइ अभियानमा संलग्न भएका रहेछन्। सँगैका शिक्षकलाई कम्ती साना नानीलाई धुलोमा नहिँडाएको भए हुन्थ्यो भने। उनले हो त भने तर मेरो सल्लाह उनलाई पटक्कै मन नपरेको अनुहारमै देखिन्थ्यो। त्यसपछि सामाखुसीको आत्मज्ञान प्रचार संघ नजिकैको बाटोबाट म्हैपीतिर लागेँ। मञ्जुश्री मार्गबाट केही अगाडि बढेपछि सफाइ अभियन्ताहरूको ठूलै हुलसँग भेट भयो। कलेजका विद्यार्थी तथा सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृत जवानहरूको टोली सफाइमा लागेको थियो। सबैभन्दा अगाडि रहेका युवाकलाई सोधेँ- तपाईँलाई यसरी काठमाडौं सफा हुन्छ भन्ने विश्वास छ? उनले भने- विश्वास त छैन तर के गर्ने? यही प्रश्न टोलीको अगाडि हिँडेका सेनाका अधिकृतलाई पनि सोधेँ। उनी अनकनाए। मैले भने- भै गो। अप्ठेरो लागे केही नभन्नुस्। गन्हाउने सामाखुसीको पुलमा उभिएका प्रौढदेखि म्हैपी ओर्लँदै गरेका सुरक्षाकर्मी र सामान्य नागरिक गरी अरू आठ जनालाई यही प्रश्न सोधेँ। तीमध्ये छ जनाले यस्तो अभियानमा विश्वास छैन भने। एक जना महिलाले- हुन्छ कि भनिन् र अर्का एकजना पुरुषले- हुन्छ नि भने। म्हैपी उक्लेर ओर्लेपछिको परिक्रमाका क्रममा एउटा भुस्याहा कुकुरको सिनु सडककै छेउमा थुपारिएको देखेँ।

बर्दीधारी र स्कुले पोसाक लगाएकाहरू सरकारी इच्छामा सजिलै खटिन्छन्। पञ्चायतकालको सम्झना भयो। यस्तै सफाइ अभियान वर्षमा दुईचार पटक चलाइन्थ्यो । राजारानीहरूको जन्मोत्सव मनाउन। जिल्ला सदरमुकाममा कहिल्यै श्रम नगर्ने ठुलाठालुहरू सडक बढार्न तम्सन्थे। तमासै हुन्थ्यो। भोलिपल्ट सडक उस्तै हुन्थ्यो। किनभने जनताले त्यस्तो कामलाई तमासा र पाखण्डत्र ठान्थे।

सरकारले सडक छेउका घर भत्काउन सूचना दिन थालेछ फेरि। आँबुखैरेनीको २०३० सालभन्दा पनि पहिले सडकको बीचबाट ७५ फिट छाडेर बनाएको हाम्रो घर पनि भत्काउनु भनेर सूचना टाँसिएको छ रे। राज्यले भत्काउनै खोजे मेरो के लाग्छ? हुन त, यस्तै सूचना धेरै पटक टाँसिएको मैले थाहा पाएकै छु। भाइलाई भने- डुम्रे वा खैरेनी बजारबाट भत्काउँदै ल्याए भने हामीले पनि भत्काउनै पर्छ। बीचमा हाम्रोबाटै त नथाल्लान् नि !

लमहीबाट काठमाडौं आउँदा भने सडककै छेउमा समेत घर बनाइरहेको दृश्य थुप्रै देखियो। नागढुंगाबाट यतैसमेत सडकका छेउमा धमाधम घर बन्दैछन्। सरकारले चाहिँ- बनाएर त भ्याऊ, अनि भत्काउँला नि !भनेर पर्खेजस्तो पो देखिन्छ त। भत्काउनु छेन भने किन सूचना टाँसेर जनतालाई आतंकित बनाउनु? भत्काउने हो भने बनाउन दिएर किन नोक्सान गराउनु? जनताको सम्पत्ति पनि प्रकारान्तरले राज्यकै हो पनि भन्ने अनि जानाजान क्षति हुन किन दिने? यो राजकाजको मामिला बुझ्नै सकिएन।

काठमाडौंमा सफाइ अभियान थाल्ने सरकारका आँखा मधेसका ठूला क्रसर मेसिनमा पनि परेको भए पो। बाटाकै छेउमा यस्ता दैत्याकार क्रसरहरू चलाइएका छन्। बालुवा, ढुंगा, गिटीलगायत काठपातसमेत भारत खुलायाम र चोरी निकासी भइरहेको छ। तिनले राजमार्ग भत्काउने र प्रदूषण फैलाउने पनि गरेका छन्।
विकासका कामले गति पाउने बित्तिकै नेपाललाई नै तिनको सबैभन्दा ठूलो खाँचो पर्छ। तैपनि, त्यस्तो काम रोक्न सरकारले चासो लिएको देखिएन।

काठमाडौंका रैथाने ( यहाँ बस्ने नयाँ पुराना सबै)लाई रिझाउन सके सत्ता टिक्छ भनेर राजाहरूले पनि अनेकौँ प्रपञ्च र पाखण्ड गर्थे। बाबुराम भट्टराईको ढबढाँचा पनि उस्तैउस्तै पो छ त।